जनकपुरधाम, २२ कार्तिक । सत्ता गठबन्धनको तर्फबाट धनुषा ३(ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार लोसपा नेता परमेश्वर साहले सही नेतृत्वकर्ताको पहिचान गरेर भोट खसाउन मतदातासँग आग्रह गरेका छन् ।

साहले नेतृत्वमा रहेर जनताको काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उम्मेदवारलाई चुनेर संसदमा पठाउन मतदातासँग अपिल गरेका हुन् ।

साहले भने, ‘अब मतादाताहरुलाई भ्रमित पार्न सकिँदैन । मतदाताहरुले को सही नेतृत्वकर्ता र को अवसरवादी भनेर छुट्याउन सक्नु हुन्छ । उहाँहरुले आफ्नो दुःखसुखमा काम लाग्ने नेतालाई छान्नुहुन्छ । निर्वाचनको समयमा आएर मात्र जनताको घरघर पुग्नेलाई उहाँहरुको मत पर्दैन ।’

उम्मेदवार साहले पाँचवर्षसम्म आफूले सांसद्का रुपमा सदनमा निरन्तर यस प्रदेशको हितका लागि आवाज उठाएको स्मरण गराए ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा घरदैलोको क्रममा मतदाताहरुसँग कुराकानी गर्दै साहले मुलुकमा व्याप्त समस्या समाधानका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।