रौतहट, २२ कार्तिक । जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग गठबन्धन गरेको कारण आफूल्े पार्टीबाट राजीनामा दिएको उनले बताए ।

उनले भने, ‘अहिले चुनावमा हामीलाई मतदाता समक्ष जान पनि गाह्रो भइरहेको छ, जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, मधेसीलाई पटकपटक अपमान गर्यो, संविधान संशोधन हुन दिएन आज सोही पार्टीसँग जसपाले गठबन्धन बनाएको छ, त्यसले गर्दा पार्टीमा काम गर्न निकै गाह्रो भएको कारण राजीनामा दिएको छु ।’

नेता पटेल २०६४ साल अर्थात् मधेस आन्दोलनदेखि नै सो पार्टीसँग जोडिएका थिए । उनी २०७४ को स्थानीय चुनावमा रौतहटको देवाहीगुनाही नगरपालिकाका मेयरमा पनि जितेका थिए ।

उनी हाल कुनै पार्टीमा गएका छैनन् ।