मो. इस्तियाक राईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, २२ कार्तिक । निर्वाचन आयोगले बाँके निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
जसपाका नेतासमेत रहेका राईले निर्वाचन प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो ।
आफैंले वा प्रतिनिधिमार्फत २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।
‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)का विरुद्ध तपाईंले अपमानजनक अभिव्यक्ति दिनुभएको हो, होइन ?’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’
इस्तियाकको अभिव्यक्ति निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधानविपरीत भएको आयोगको ठहर छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


