पर्सा–४ का उम्मेदवार रिजाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, २२ कार्तिक । निर्वाचन आयोगले पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रमेश रिजाललाई स्पष्टीकरण सोधेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृत प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगले उम्मेदवार रिजाललाई कार्कीलाई किन धम्की दिएको भन्दै त्यसविरुद्ध प्रचलित कानून बमोजिमको कारबाही प्रक्रिया किन अगाडि नबढाइनुपर्ने हो भनेर सोधेको छ ।
आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयलाई लिएर उम्मेदवार रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा उजुरी परेको थियो ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) मा निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन नहुने उल्लेख छ । यस्तो कसूर गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


