काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मुलुकलाई अग्रमनतर्फ लैजानका लागि गठबन्धन गरिएको बताएका छन् ।

व्यास नगरपालिका–३ देउरालीनगरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नु परेको बताएका हुन् ।

युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ छ ।

व्यासको अग्लो मूर्ति निर्माण, व्यास पार्क निर्माण गरी व्यास जन्मभूमिलाई तनहुँ आउने र करोडौं नेपालीको आस्थाको केन्द्र बनाई पर्यटनमा फड्को मार्ने कार्य पूरा गर्न उम्मेदवार बनेको नेता पौडेलको स्पष्टोक्ति छ ।