हेटौंडा, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस झुटो बोलेर जनतामा भ्रम छर्ने पार्टी नरहेको बताएका छन् ।

मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले निर्वाचनपछि कांग्रेससहितको गठबन्धनको सरकार बन्ने र देश समृद्धिको बाटोमा जाने बताएका हुन् ।

उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै कांग्रेस एक्लैले ९१ सिटका लागि उम्मेदवारी दिएको बताउँदै आगामी सरकारको नेतृत्व पनि स्वभाविक रूपमा कांग्रेसले नै गर्ने बताए ।

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा औपचारिक निर्णय वा सहमति भने भइनसकेको उनको भनाइ छ । गठबन्धनको अगुवा दल भएको कारण कांग्रेसकै नेतृत्वमा सरकार बन्ने प्रष्ट भएको महतले बताए। नेपाली कांग्रेस भाषण धेरै गर्ने भन्दा पनि काम गरेर देखाउने पार्टी भएको समेत महतले बताए ।

उनले मकवानपुरमा गठबन्धनका सबै उम्मेदवार सक्षम र सशक्त रहेको भन्दै गठबन्धनकै उम्मेदवारलाई मत दिएर विजयी गराइदिन आग्रहसमेत गरे ।