मधेस प्रदेशमा सरकारी कामकाजको भाषा मैथिलीलाई बनाउनुपर्छ : अध्यक्ष दत्त

सप्तरी, २१ कार्तिक । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको राजविराजमा मैथिली साहित्य परिषद्द्वारा आयोजित विद्यापति स्मृति पर्वमा प्रमुख अतिथिको आसनबाट बोल्दै डा.दत्तले यस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले मैथिलीलाई नै सरकारी कामकाजको भाषा बनाउनु पर्ने बताएका हुन् ।
उनले मधेसी आयोग र भाषा आयोगले संयुक्त बैठक गरेर यो विषयमा छलफल गरिसकेको र भाषा आयोगद्वारा प्रदेश सरकारलाई मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस भइसके पनि प्रदेश सरकारले बेवास्ता गर्नुप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले भाषामा राजनीति गर्नुभन्दा पनि भाषाको लागि राजनीति गर्नुपर्ने बताउँदै मैथिली भाषाको संरक्षण र सशक्तीकरण गर्न आयोगले कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा मधेसी आयोगकी सदस्य आभा सिंह, मधेस प्रदेशको आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मैथिली अभियानकर्ता अजय साह शिवाली लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । दिवसको अवसरमा परिषद्ले विभिन्न विधातर्फ ३ जनालाई सम्मानसमेत गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


