पोखरा, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुने दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनवालाहरुको मत सर्वेक्षणले एमालेले कांग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले सो सर्वेक्षण नै गलत रहेको जिकिर गरे ।

सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरुलाई पनि सामेल गरेर सरकार बनाउने बताए ।

मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने बताए । मुलुकको स्वाधिनता, स्वाभिमान जोगाउनका लागि पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनैपर्ने उनको भनाई थियो ।

ओलीले संविधान उल्लंघन गर्ने काम आफूहरुले नगरी सत्तारुढ गठबन्धनले गरेको आरोप समेत लगाए । संविधानमै नभएको परमादेशबाट सरकार बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले संविधान कुल्चिने काम गरेको उनले तर्क गरे ।