काठमाडौं, २१ कार्तिक । मंगलबार कार्तिक शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले सो ग्रहण देखाउने भएको छ ।

वरिष्ठ खगोलविद् डा. जयन्त आचार्यका अनुसार सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको छ ।

बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । बेलुकी ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिनेछ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।

नेपाल पञ्चाङ निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बेलुकी ५ः२७ बजे ग्रहणको उन्मिलन हुने बताए ।बेलुकी ६ः३४ बजे ग्रहण सकिन्छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ ।

धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमका अनुसार चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार कार्तिक २२ गते मंगलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि गौतमले बताए ।

यसअघि कार्तिक ८ गते मंगलबार कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यो वर्षको कार्तिक महिनाका दुवै पक्षमा ग्रहणको संयोग परेको छ ।

यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिनेछ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता छ ।