जनकपुरधाम, २१ कार्तिक । बाल सरसफाइ अभियानी दक्ष झाले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिकास्थित वाणगंगामा विरुवा रोपेर झाले आफ्नो ९औँ जन्मदिन मनाएका हुन् ।

जन्मदिनमा वृक्षारोपण गरेर वातावरणको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले आफूले वृक्षारोपण गरेको दक्षले बताए । उनले यस वृक्षारोपण गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।

दक्षकी आमा सरसफाइ अभियानी रुवी झाले हरेक व्यक्तिले जन्मदिनमा कम्तिमा एक विरुवा रोप्न सकेको खण्डमा वातावरणको संरक्षणमा उल्लेखनिय योगदान हुन सक्ने बताइन् ।

दक्षको जन्मदिनको अवसरमा वाणगंगामा नीम, पिपल, बेलपत्र, बर, गोलमोहर, धात्रीलगायतका विरुवाहरु रोपिएका छन् ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झाको प्रमुख आतिथ्यमा आयोजित वृक्षारोपण कार्यक्रममा दक्षका पिता विपिन झा, अर्थ ग्रीन क्लिन फाउण्डेशनका अध्यक्ष दिपु ठाकुर, वाणगंगाको साप्ताहिक अभियानका संयोजक प्रमोद यादव, निशा अधिकारी, धनुषाधामस्थित वन कार्यालयका प्रमुख उमेश मण्डल, इजीएम नेपालका शिक्षा अभियानी कमल नारायण भट्टराई, राष्ट्रिय कुस्ति खेल प्रदेश खेलाडी अजित यादव, हनुमान आराधना मण्डली नेपालका केन्द्रिय सदस्य भिशिन गिरी, सरसफाइ अभियानी सरोज यादव, आदित्य ठाकुरलगायतकाहरुको सहभागिता रहेको थियो ।