बारा, २१ कार्तिक । निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरेको भन्दै बारा क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा सवार सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले विश्वकर्मा सवार सरकारी गाडी नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सिमराले स्थानीय प्रशासनको आदेशमा विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट नियन्त्रणमा लिएको छ ।

निवर्तमान प्रदेशसभा सदस्य विश्वकर्माले नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी पाएका थिए । तर, विकले प्रदेशसभा सदस्यको कार्यकाल सकिनासाथ नेकपा एमाले प्रवेश गरेपनि गाडीको सुविधा भने प्रयोग गर्दै आएका थिए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख पर्शु पोखरेलले निवर्तमान प्रदेशसभा सदस्य विकले सरकारी गाडी एमालेको चुनाव प्रचारप्रसारमा प्रयोग भइरहेको गुनासो आएकाले स्थानीय प्रशासनमार्फत गाडी नियन्त्रणमा लिइसकेको बताए ।

विश्वकर्माले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदादेखि प्रदेश–२–०२ ००१ झ ००८८ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आएका थिए ।