मधेसको हरेक आन्दोलनमा लोसपाको अहम भूमिका : अध्यक्ष ठाकुर

जनकपुरधाम, २१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको हरेक आन्दोलनमा लोसपाको अहम भूमिका रहेको दावी गरेका छन् ।
अध्यक्ष ठाकुरले देशको नागरिक भएर पनि अनागरिकको जिवन विताईरहेका नेपालीलाई नागरिकता दिलाउन केवल लोसपाले सक्ने भएकोले लोसपाको विकल्प नरहेको बताएका हुन् ।
चुनावी घोषणापत्र सार्वजनिक गर्दै महोत्तरी–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका अध्यक्ष ठाकुरले लोसपाले अहिले धेरै काम गर्न बाँकी रहेकोसमेत बताए ।
ठाकुरले मधेशीको हक र अधिकारको लागि लोसपा एकमात्र विकल्प भएको दावी गर्दै अहिले गठबन्धन आवद्ध दलहरु समेत मधेसको माग र अधिकारको लागि प्रतिवद्ध रहेकोले लोसपालाई मतदान गर्न आग्रह गरे ।
लोसपाले सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचार रहित स्थानिय सरकार, व्यवहारिक शिक्षा विकासको मुल आधार, स्वस्थ्य नागरिक, स्वस्थ्य एवं समृद्ध देश, महिला सशक्तिकरण, कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र बजार व्यवस्थापन, चुरे जोगाउ, मधेस बचाउ, जेष्ठ नागरिकहरु सम्मानपुर्वक जीवन यापन गर्ने वातावरणको निर्माण, युवा सशक्तिकरण एवं उद्यमशीलता प्रवद्र्धन, प्रभावकारी विपद व्यवस्थापन, भौतिक पुर्वाधार निर्माण विकासको आधारलाई पार्टीको मुल एजेण्डा बनाएको छ ।
जनकपुरधाममा अन्तर्राष्ट्रिय पर्यटन एवं विश्व हिन्दु केन्द्रको स्थापना, वीरगञ्जलाई मधेस प्रदेशको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगञ्जलाई देशको आर्थिक विकासको मेरुदण्ड बनाउने र लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरुका लागि अन्तर्राष्ट्रिय तिर्थस्थल एवं ध्यान केन्द्र निर्माण लगायतको मुद्दालाई लोसपाले घोषणापत्रमा समेटेको छ ।

घोषणापत्रको प्रतिवद्धतामा राजनीतिको प्रमुख लक्ष्य नै विकास भएको उल्लेख गर्दै ठोस र स्थायी विकास लोकतन्त्रमा नै हुने कुरा निर्विवाद रहेको उल्लेख गरिएको छ । मधेशी सहित उत्पिडित सवै वर्ग र समुदायहरुको सम्मान, पहिचान एवं समान अधिकारको संवैधानिक सुनिश्चितता र राष्ट्रको विकास गरेर समृद्धि हासिल गर्नु लोसपाको लक्ष्य रहेको प्रतिवद्धतामा उल्लेख छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरत सिंह भण्डारी, केन्द्रिय कार्यकारिणी सदस्य अनिलकुमार झा र लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख तथा लोसपा नेता उमाकान्त झाले उक्त घोषणापत्र संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


