जनकपुरधाम–१४ को वडा कार्यालयमा वडासदस्यले लगाए ताला

जनकपुरधाम, २० कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाको एक वडा कार्यालयमा वडा सदस्यहरुले तालाबन्दी गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ को वडा कार्यालयमा वडासदस्यहरुले तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष पुण्यप्रताप यादवले आफूहरुलाई कुनै खोजविन नगरि मनोमानी तरिकाले काम गरिरहेको भन्दै वडासदस्यहरुले आइतबारदेखि वडा कार्यालयमा अनिश्चितकालका लागि ताला लगाएका छन् ।
वडा सदस्यहरुले वडाध्यक्ष यादवले सेवाग्राहीबाट अतिरिक्त रकम (घुस) लिने गरेको, निर्वाचित भएको ६ महिना बितिसक्दासमेत कुनै काम नै नगरेको, महिनामा अनिवार्य हुने तीनवटा बैठकसमेत बस्न नदिएको, वडा कार्यालयमा नियमित नबस्ने गरेको लगायतका आरोप लगाएका छन् ।
वडासदस्य जीवछ दासले यस विषयमा वडाध्यक्ष यादवलाई आफूहरुले पटक पटक ध्यानाकर्षण गराउँदा समेत उनले कुनै वास्ता नगरेपछि शनिबार वडासदस्यहरु बाध्य भएर कार्यालयमा ताला लगाएको बताए ।
वडासदस्य रमेश साहले वडामा महिनामा हुने तीनवटा बैठक समयमा हुनुपर्ने, बैठकको निर्णय अनुसार काम गर्नुपर्ने, पूर्व वडासचिव र जनस्वास्थ्यका कार्यालय सहयोगीलाई कार्यालय परिसरबाट हटाउनु पर्ने, सरसफाइमा प्रयोग भएको ट्याक्टर र खर्च पारदर्शी हुनुपर्ने, वडाभित्रको सामुदायिक विद्यालयमा पठनपाठन सुधार हुनुपर्नेलगायतका आफूहरुको माग रहेको जानकारी दिए ।
यस सम्बन्धमा वडाधयक्ष यादवले आफूमाथि लगाइएको सम्पूर्ण आरोप निराधार र कपोकल्पित रहेको बताए । उनले आफूले सबै वडा सदस्यहरुको व्यक्तिगत स्वार्थ कदापी पूर्ति गर्न नसक्नेसमेत बताए ।
वडाध्यक्ष यादवले वडाभित्रका सम्पूर्ण कामहरु नियमित रुपले भइरहेको दाबी गर्दै केही वडा सदस्यहरु राजनीतिक उक्साहटमा लागेर आफूविरुद्ध विभिन्न जालझेल र प्रपञ्च रचेको जिकिर गरे ।
जनकपुरधाम–१४ का वडाध्यक्ष यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका छन् भने अन्य चारजना वडासदस्यहरु नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


