जनकपुरधाम, १९ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश साहको मतदातामाझ क्रेज बढ्दै गएको देखिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष तथा विभिन्न संघ संस्थामा आवद्ध रहेका साहको दिनप्रतिदिन क्रेज बढदै गएको पाइएको छ ।

साहको घरदैलौ अभियानसँगै उनी दुवै गठबन्धनको उम्मेदवार भन्दा मजबुत स्थितिमा पुगेको मतदाताको आंकलन छ ।

यस क्षेत्रका मतदाता भन्छन्, ‘जनताले पटक–पटक राजनीतिक दलका उम्मेदवारलाई स्थान दिएपनि उनीहरुले जनतालाई ठग्ने काम मात्र गरेका छन् । दलका नेताहरु अहिले चुनावको बेला मतदाताको अगाडि हात जोड्ने, खुट्टा समात्ने काम नाटक मात्र हो । उनीहरु चुनावको बेलामा ठुला–ठुला भाषन गर्ने , जनतालाई झुठो आश्वासन दिने काम मात्र गरेका छन् ।’

जनकपुरधाम–२० बस्ने राम सिनेही मुखियाले जनताले पटक–पटक राजनीतिक दलका नेतालाई विकासको निम्ति अवसर दिएपनि उनीहरुले जनताका लागि केही नगरेकोले जनता अब सचेत भइसकेको बताए । उनले यसपालि स्वच्छ र विश्वासिलो स्वतन्त्र उम्मेदवार उमेश साहलाई मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले घरदैलो अभियान सञ्चालन गरेसँगै उम्मेदवार साह आफ्नो क्षेत्रमा मजबुत उम्मेदवारको रुपमा चिनिन थालेको बताए । अन्य उम्मेदवारको तुलनामा साह मजबुत बन्दै गएको उनी बताउँछन् ।

आफूले अहिलेसम्म आफ्नो छवि बचाएर राखेकोले आफूमाथि विश्वास गरेर मतदान गर्न साहले मतदातासँग आग्रह गरेका छन् ।