जनकपुरधाम, १९ कार्तिक । धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री मातृका प्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट दिपक कार्की उम्मेदवार छन् । यी दुई नेता २०७४ सालको निर्वाचनमा समेत आमने सामने थिए । तर यस पटकको निर्वाचनमा यी दूबै नेताकाबिच जनमत पार्टीबाट उम्मेदवारी दिएका किशोरी साह कमललाई मतदाताहरुले आश्वासन दिइरहेका छन् ।

निवर्तमान प्रदेशसभा सदस्य कमललाई एमालेले टिकट नदिएपछि जनमत पार्टीबाट प्रतिनिधिसभाको टिकट पाएका उनको चर्चा यी दुई उम्मेदवारभन्दा बढी भईरहेको पाइएको छ ।

एमालेले अन्याय गरेको भन्दै उनी मतदाताहरुको सहानुभूतिसमेत पाइरहेका छन् । कमलले मतदाताबाट पाइरहेको आश्वासनले यादव र कार्कीबिचको प्रतिस्पर्धामा उनले जित निकाल्न सक्ने सम्भावना बढेको छ ।

यस क्षेत्रमा कांग्रेस, एमाले र माओवादीले केहि गर्न नसकेको र जनतालाई आफ्नो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफ्नो जीत सहज हुने कमलको दावी छ ।