काठमाडौं, १९ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् ।

शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै मन्त्री कार्कीले उनले जनता झुक्याउँदै आएको बताए । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीले संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताए ।

केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनतासामु गरेका वाचा पूरा गर्न छाडेर संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेको मन्त्री कार्कीले आरोप लगाए ।

नेपाली कांग्रेसले बोलेका कुरा गर्ने भन्दै मन्त्री कार्कीले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गरे । अहिले गठबन्धनको संस्कृतिलाई अझ बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने उनको दाबी थियो ।