यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रश्न : राजनीतिबाट हामी टाढा किन?

जनकपुरधाम, १९ कार्तिक । मधेस प्रदेशका स्थानीय तहका राजनीतिक दलहरुसँग शनिबार जनकपुरधाममा एक दिने कार्यशाला सम्पन्न भएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्य महासंघ र ब्लू डायमण्ड सोसाइटी नेपालले आयोजना गरेको कार्यशालामा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूहरु राजनीतिबाट टाढा हुनुपरेको पीडा सुनाएका छन् ।
कार्यक्रममा ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुङले भनिन, ‘नेपालको संविधानले लैंगिकताको आधारमा मात्रै नभई, कुनै पनि आधारमा कसैलाई भेदभाव गर्न नपाइने भनेको छ । संविधानले राज्यका निकायमा अन्य वर्ग, क्षेत्र र समुदायलाई जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको समावेशी प्रतिनिधित्वको समेत व्यवस्था गरेको छ । तर, यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले राज्यका निकायमा समावेशी सहभागिताको अवसर त पाएका छैनन् नै, मताधिकार समेत सहज छैन ।’
गुरुङले भनिन्, ‘हामीले आफ्नो पहिचानसहितको नागरिकता पाउन नै संघर्ष गर्नुपर्ने र राजनीतिकमा पनि पक्षपात गरिएको छ ।नागरिकता नै नभएपछि मताधिकार र राजनीतिक त टाढैको कुरा भयो । त्यसमाथि नागरिकता पाएर पनि हाम्रो लागि मताधिकार सहज छैन् ।’
‘नेपालमा वि.स. २०१० पछिमात्रै महिलाले मतदान गर्ने र उम्मेदवार हुने अधिकार पाए । उम्मेदवार बन्नकै लागि त महिलाले पनि अहिलेसम्म संघर्ष नै गर्नुपरिरहेको छ । वर्तमान संविधानले महिलाका लागि पर्याप्त अधिकारको प्रबन्ध गरेको छ । त्यसो त यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको हकमा पनि संवैधानिक व्यवस्था गर्नेमा नेपाल तेस्रो मुलुकमा पर्छ । तर, संविधानमै सम्बोधन भएपनि यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार भने अझैसम्म सुनिश्चित भइसकेको छैन, उनले भनिन् ।’
‘यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि मतदाता नामावलीमा नाम भएपनि मत खसाल्न जाँदा थप कठिनाई बेहोर्नुपर्छ । मतदान केन्द्रमा पुरुष र महिलाको लागि लाइन हुन्छ, अल्पसंख्यकको लागि हुदैन,’ उनी भन्छन्, ‘त्यसकारणले नामावलीमा नाम भएपनि हामीले लाइन लागेर मतदान गर्ने अवस्था रहँदैन । उम्मेदवारी दिन पाउने अवस्था त झनै छैन् ।’
कार्यक्रममा अन्य वक्ताहरुले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरूले भोगिरहेका समस्याका बारेमा जानकारी गराउँदै विस्तारै समाजले सम्मान दिने सुरू गरेपछि धार्मिक, भाषिक, जातीय र पहिचानको आधारमा पार्टीहरुमा अवसर दिने विश्वास र पहलका लागि निरन्तरता आवश्यक रहेको बताए ।
कार्यक्रममा सुनौलो बिहानी समाजका कोषाध्यक्ष नगामा खान, एफएसजिएम संघका संयोजक सिम्रन शेरचन, सुनौलो बिहानी समाजका संस्थापक अध्यक्ष प्रदिप यादव, कार्यक्रम संयोजक सत्यनारायण साह(छोटु)लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


