सर्लाही, १९ कार्तिक । सर्लाहीमा बालिकाको डुबेर मृत्यु भइसकेपछि शवलाई गाडिसकेको अवस्थामा प्रहरीले शव उत्खन्न गरी पोष्टमार्टमका लागि पठाएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरमा बाल्टिनभित्रको पानीमा डुबेर मृत्युभएपछि परिवारले गाडिसकेको एक बालिकाको शव प्रहरीले उत्खनन गरेर पोष्टमार्टमका लागि पठाएको हो ।

नवलपुरस्थित लखन्देखी खोलाको किनारमा छाप्रो बनाएर बस्दै आएका इनरदेव महतोकी दुई वर्षीया छोरी रागिनी महतोको बिहीबार बिहान आफ्नै घरको आँगनमा पानी भरेर राखिएको बाल्टिनभित्र डुबेर मृत्यु भएको थियो ।

बालिकालाई बाल्टिनभित्र अचेत अवस्थामा घोप्टिरहेको देखेपछि परिवारका सदस्यले उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कानून अनुसार पानीमा डुबेर मृत्यु भएको मृतकको शवको पोष्टमार्टम गर्नुपर्ने भएकाले शुक्रबार सो घटनाबारे सूचना पाएपछि बालिकाको शव खाल्डोबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।

बिहीबार दिउँसो खोलामा लगेर गाडिएको बालिकाको शव करिव २४ घण्टापछि शुक्रबार दिउँसो खाल्डोबाट निकालेर पोष्टमार्टम गर्न पठाइएको हो ।