जुली र अनिलसहितका उम्मेदवारहरुको करिव एक दर्जन सवारी साधन प्रहरी नियन्त्रणमा

जनकपुरधाम, १९ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरुको सवारी साधन नियन्त्रणमा लिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३(क) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(ख) का उम्मेदवार दिपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३(क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादवलगायत अन्य उम्मेदवारहरुले ब्यानर झुण्ड्याएको करिव एक दर्जन सवारी साधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचारसंहिताविपरीत सवारी साधनमा ठुला–ठुला ब्यानर झुण्ड्याएको, अत्यधिक ध्वनी प्रदुषण हुनेगरि डिजेमा प्रचारप्रसार गरेकोलगायतका गतिविधिहरु गरेकोले नगरभित्रका विभिन्न चोकहरुबाट नेपाली तथा भारतीय नम्बरप्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
डिएसपी क्षेत्रीले सो बिषयबारे थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको बताए ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको बताए ।

निर्वाचन आयोगले यसअघि कार्तिक १२ गते पनि धनुषा–३ का उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
महतोले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


