काठमाडौं, १९ कार्तिक । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गरेको छ ।

शासकीय स्वरूपमा परिवर्तन, संघीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्नु पर्ने पत्रमा उल्लेख छ ।

त्यस्तै उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने लगायतका कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै जसपाले संविधान संशोधन अहिलेको मुख्य संघर्ष रहेको प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले संविधानलाई संविधान मान्न नसकिने तर्क गरेको छ ।

जसपाले संविधानलाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमतको बलमा जारी भएको दस्तावेजको संज्ञा दिएको हो ।

४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर जारी गरेको घोषणा पत्रमा जसपाले यस्तो उल्लेख गरेको छ । उसले संविधान पुर्नलेखन हुनु पर्ने पनि उल्लेख गरेको छ ।

उसले तीन दलले मिलेर बहुमतको आधारमा संविधान जारी गरेको पनि उल्लेख गरेको छ ।

जसपाले लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय स्थापित गर्नका लागि संविधान संशोधन तथा परिमार्जन गर्न अपरिहार्य रहेको पनि घोषणा पत्रमा उल्लेख गरेको छ ।