जनकपुरधाम, १८ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षाव्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल सरकार गृह मन्त्रालय तथा मधेस सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबार जनकपुरधाममा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।

खुल्ला सिमानाकासाथै आन्तरिक तिक्तताहरुले निर्वाचनमा हुन सक्ने खतरा औल्याँउदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशन समेत दिए ।

निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको बताउँदै मुख्यमन्त्री राउतले आचारसंहितको सूक्ष्म कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण जस्ता कार्यहरुलाई प्राथमिकतामा राख्न निर्देशन समेत दिए ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल सरकारका गृहसचिव विनोद प्रकाश सिंह, मधेस सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउत, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहितको उपस्थिति रहेको थियो ।

गोष्ठीमा प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे व्रिफिङ्ग गरेका थिए ।