काठमाडौं, १८ कार्तिक । काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

वादी र प्रतिवादीका तर्फबाट भएको थुनछेक बहसपछि शुक्रबार अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।

५ भदौमा काठमाडौंको एक होटलमा १७ वर्षकी किशोरीमाथि लामिछानेले बलात्कार गरेको आरोप लागेको थियो । उनीविरुद्ध ती किशोरीले २१ भदौमा प्रहरीमा किटानी जाहेरी दएकी थिइन् ।

त्यति बेला सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

२० असोजमा नेपाल फर्किएका सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।