काठमाडौं, १७ कार्तिक । जसपासँग तालमेल गरेकोमा असन्तुष्टि पोख्दै एमालेकी एक नेतृले राजीनामा दिएकी छन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्जार्च रीताकुमारीले बिहीबार पार्टी परित्याग गरेकी हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयविपरीत आगामी प्रनिनिधिसभाको निर्वाचनमा गैरवैचारिक धरातलका दलहरूसँग तालमेल गरेको आरोप लगाउँदै उनले विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेकी हुन् ।

नाकाबन्दीका नाइके जसपा अध्यक्ष उपेन्द्र यादवसँग तालमेल गरेको भन्दै उनले राजीनामा गरेकी हुन् । नाकाबन्दीको बेलामा विरोध गरेर राष्ट्रवादी छवि बनाएका अध्यक्ष ओलीले नाकाबन्दीका नाइकेसँग तालमेल गर्नु गलत भएको उनको भनाइ छ ।

राजसंस्था पुन: स्थापना गर्ने र संघीयताको खारेजीको एजेण्डा बोल्ने राप्रपासँग तालमेल गरेकोमा पनि उनले आपत्ति जनाएकी छन् ।

यथास्थितिवादी र प्रतिगामी तत्वहरूको साँठगाँठमा एमाले लागेको भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेकी छन् ।