प्रहरीले अनाहकमा दुःख दिएको भन्दै भंगहाका व्यापारीहरु आन्दोलित

जनकपुरधाम, १७ कार्तिक । प्रहरीले अनाहकमा दुःख दिएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका व्यापारीहरु आन्दोलित भएका छन् ।
उनीहरुले बिहीबार सितापुर भंगहा प्रहरी चौकीका असई सुरेश सहनीविरुद्ध नाराबाजी गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
प्रहरी सहायक निरिक्षक सहनीले भंगहा नगरपालिका वडा नम्बर–६ जमुनिया टोलमा कपडा पसल सञ्चालन गरेका राजा चौधरीको हजारौं मुल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको भन्दै स्थानीय व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् ।
‘असई सहनीले पैसाका लागि स्थानीय व्यापारीलाई दुःख दिने गरेका छन्’ चौधरीले भने, ‘बिलसहितको कपडा पनि पैसा नदिएको झोंकमा मेरो पसलबाट उनले अनाहकमा नियन्त्रणमा लिएका छन् ।’
आफूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी समेत दिए । बोदे भंगहा नगरपालिकाका मेयर संजिव साहले व्यवसायीसँग बिल हुँदाहुँदै पनि प्रहरी सहायक निरिक्षक सहनीको व्यवहार गलत देखिएको प्रतिक्रिया दिए । उनले असई सहनीलाई कारबाही गराउने विषयमा व्यवसायीहरुसँग छलफलसमेत गरेको बताए ।
यता, यस सम्बन्धमा असई सहनीले सो सामानहरु भन्सारबिनाको सामान रहेकोले आफूले जानकारी पाएलगत्तै नियन्त्रणमा लिई प्रहरी चौकी भंगहामा राखेको बताए । उनले त्यहाँका स्थानीय व्यापारीहरु राजनीतिक उक्साहटमा लागेर आफूविरुद्ध खनिएर आन्दोलमा उत्रेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


