सर्लाही, १७ कार्तिक । सर्लाहीमा स्थानीयले ‘नो रोड नो भोट’ भन्दै उम्मेदवारलाई गाउँ पस्न रोक लगाएका छन् ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा पर्ने कौडेना गाउँपालिका–३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका हुन् ।

आगामी मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचारप्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका छन् । युवाहरुले हुलाकी राजमार्गमा टायर बालेर प्रदर्शनसमेत गरेका छन् ।

हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीयले ‘नो रोड नो भोट’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् ।

कौडेना गाउँपालिका–३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएको र गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताए ।

उनले हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले गाउँलेको स्वास्थ्य समेत विग्रिएको गुनासो गरे ।

सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साहसहित १७ जना चुनावी प्रतिस्पर्धामा छन् ।