काठमाडौं, १५ कार्तिक । ‘नो नट अगेन’ अभियानबारे निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।

मंगलबारका लागि पेसी तोकिए पनि मुद्दाको चापका कारण भोलि मात्रै सुनुवाइ हुने भएको हो । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले आयोगको सो कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक विपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।

गतसाता आयोगले यो अभियान गैरकानुनी रहेको भन्दै थप क्रियाकलाप अघि नबढाउन निर्देशन दिएको थियो । त्यसको सर्वत्र आलोचना हुँदै गर्दा त्रिपाठीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

आयोगले यस सम्बन्धमा जारी गरेको सूचना स्वेच्छाचारी र बदनियतपूर्ण रहेको भन्दै त्रिपाठीले उक्त सूचना खारेजीको माग गरेका छन् ।