चोरीको मोटरसाइकलसहित पर्साबाट दुईजना पक्राउ

पर्सा, १५ कार्तिक । चोरीको मोटरसाइकलसहित पर्साबाट दुईजना पक्राउ परेका छन् ।
प्रहरीले वीरगञ्जबाट मोटरसाइकल चोरी गरेको अरोपमा पटेर्वासुगौली गाउँपालिका–३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगञ्ज महानगरपालिका–३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट कार्तिक ७ गते चोरी भएको बागमती प्रदेश–०३–००३ प ३६७८ नम्बरको एनएस पल्सर मोटरसाइकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
कार्तिक ७ गते वीरगञ्ज महानगरपालिका–१४ बस्ने प्रधुमन कुमार पटेलले मोटरसाइकल हराएको भन्दै प्रहरीमा खबर गरेका थिए ।पार्किङ गरी राखिएको ठाउँबाट मोटरसाइकल चोरी भएको सूचना आए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।
वीरगञ्ज–२१ स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरले चेकजाँचको क्रममा कार्तिक ११ गते साँझ साढे ५ बजे मोटरसाइकल बरामद गरेको थियो । रामजनम र सुनिल चोरी भएकै मोटरसाइकलमा सवार थिए ।
अनुसन्धानको क्रममा उनीहरुले नै मोटरसाइकल चोरी गरेको तथ्य खुलेपछि आवश्यक कानुनी कारबाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


