पैसा र चामल बाँडेको भन्दै दुई उम्मेदवारसँग स्पष्टीकरण

म्याग्दी, १४ कार्तिक । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गरेको भन्दै दुईजना उमेदवारलाई स्पष्टीकरण सोधेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तर्गतको आचारसंहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उमेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो ।
अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लवलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जानकारी दिए ।
श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाण सहित नेपाली कांग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
निर्वाचन आचार संहिता लागु भइसकेपछि श्रेष्ठले युवा क्लवलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपी सहित उजुरी परेको छ । श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ । चामल वितरण गरेको विषयमा सञ्चार माध्यमहरुमा समाचार समेत सार्वजनिक भएको थियो ।
पहिलो पटक आचार संहिता उल्लङ्घनको उजुरी परेपछि अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइन ?, के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको अनुगमन अधिकृत रानाभाटले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


