मुख छाडेको निहुँमा बालकको हत्या, ५ जना पक्राउ

मोरङ, १४ कार्तिक । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका किशोर छन् । पक्राउ परेकाहरुले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा नम्बर–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।
छुरा प्रहार भएपछि घाइते भएका उनलाई गोदावरी अस्पताल उर्लाबारीमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको थियो । विर्तामोडमा उपचारको क्रममा सोमबार विहान करिब ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार श्रेष्ठको कोखमुनि छुरा प्रहार भएको थियो । घटनामा ८ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आक्रमण गर्ने समूहमा ७–८ जना थिए । श्रेष्ठ भने तीन जना साथीसँग मेलामा आएका थिए । मेलामा भेट भएपछि दुई समूहबीच भनाभनपछि कुटाकुट भएको थियो । सोही क्रममा सो समूहले श्रेष्ठलाई छुरा प्रहार गरेको थियो ।
छुरा प्रहारपछि आक्रमणकारी समूह फरार भएको थियो । फरार भएकामध्ये ५ जना सोमबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


