जनकपुरधाम, १३ कार्तिक । जनकपुरधाममा आज छठ पर्वको मुख्यदिन व्रतालुहरु नगरभित्रका विभिन्न पोखरी तथा तलाउहरुमा स–परिवार जम्मा भएको बेला उम्मेदवारहरु पनि विभिन्न घाटहरुको भ्रमण गरेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु छठ घाटमै पुगेर मत मागेको देखिएको छ । छठ मनाउन व्यस्त रहेका व्रतालुहरुको घाटमा पुगेर उम्मेदवारहरुले मत मागेका हुन् ।

यसैबिच, धनुष निर्वाचन क्षेत्र नम्बर–४ (क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार शेषनारायण यादवले पनि व्रतालुहरुलाई शुभकामना दिंदै मत मागेका छन् । उनी घाट घाटमा पुगिरहँदा मतदाताहरु पनि उत्साहित देखिएका थिए । घाटमा पुगेका सत्तारुढा गठबन्धनका उम्मेदवार ठाकुरलाई व्रतालुहरुले आफ्ना गुनासो र माग राखेका थिए ।

यादवले आफूहरुले पहिलो चरणको अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरेको र आज मतदाताहरुसँग छठ घाटमै पुगेर आशिर्वाद थापेको बताए । उनले आज आस्थाको महापर्व छठमा पोखरी घाटहरुमा पुगेर छठि माताको दर्शन गर्नुका साथै मतदातासँग प्रत्यक्ष भेट्न पाउँदा आफू हर्षित भएको बताए ।

उनले भने, ‘आगामी निर्वाचनलाई लक्षित गरेर मतदातासँगै भगवानको आशिर्वादसमेत प्राप्त गर्ने अवसर पाउँदा मैले आफूलाई धेरै सौभाग्यशाली ठानेको छु । यो मेरो लागि धेरै ठुलो अवसर हो ।’

यसअघि घरदैलोका लागि घरघर पसेका यादव मतदाता भेट्न आज छठ घाटमा पुगेका थिए ।