जनकपुरधाम, १३ कार्तिक । आइतबार छठको दिन पनि कायापलटले जनकपुरधाममा प्लाष्टिक म्यान क्याम्पेनको आयोजना गरेको छ ।

जनकपुरधाममा छठको दिन श्रदालु भक्तजनहरूको भिडमा प्लाष्टिकको प्रयोग गर्न नहुने सन्देशसहित त्यसलाई रोक्नका लागि पहल गर्न सडक प्रदर्शन गरिएको हो ।

बढ्दो प्लाष्टिकको प्रयोग र फोहोरको रोकथाम गर्न तथा समुदायमा सचेतना जगाउन सेभ द चिल्ड्रेन, डब्लुडब्लुएफ नेपाल र सिफ्टको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । सडक प्रदर्शन रामचोक, धनुष सागर, गंगासागर, शिवचोक, जानकी मन्दिर हुँदै जानकी चोकमा समापन गरिएको थियो ।

सडक प्रदर्शनमा पर्यावरण अभियान्ताहरुले स्थानीयबासी तथा व्यापारीलाई प्लाष्टिकबारे बुझाएका थिए भने उनीहरुले स्वच्छ वातावरण तथा जलवायु परिवर्तन रोक्न वृक्षारोपण गर्नसमेत सुझाव दिएका थिए । अभियान्ताहरुले “हुन्छ समाज सुन्दर प्लाष्टिकको प्रयोग नगरे, प्लाष्टिकको प्रयोग नगरौँ, स्वच्छ वातावरण निर्माण गरौँ, वातावरण जोगाऔं, भविष्य बचाऔं” जस्ता नारा लगाएका थिए ।

कायापलटका संस्थापक दिवाकर उप्रेतीले सामाजिक चेतनाको विकास गर्दै मानिसलाई पर्यावरण संरक्षण गर्न बुझाउन पर्ने बताए । उनले भने, ‘हामीले प्लाष्टिक म्यान क्याम्पेन लगायत अन्य अभियान पनि नियमित रूपमा संचालन गर्दैछौँ ।’

त्यस्तै कायापलटका अध्यक्ष कैयुम राईनले जलवायु परिवर्तन रोक्नका लागि युवा तथा किशोर किशोरीलाई सचेत बनाउनुपर्ने बताए ।उनले पर्वको बेला आयोजना गर्दा अभियानको प्रभाव पर्ने भएकाले हरेक पर्वमा कार्यक्रम नियमित आयोजना गरिने बताए ।