पर्सा, १३ कार्तिक । वीरगञ्जको घडीअर्वा पोखरी नजिकै एक युवकको शव फेला परेको छ ।

पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा बिहान उनी मृत अवस्थामा भेटिएका हुन् ।

‘नालामा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा शव भेटिएको छ । घटनास्थल जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएका छौं ।’ डीएसपी गिरीले भने ‘ मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ ।’

नालामा पुरुष व्यक्ति मृत भेटिएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट अनुसन्धान अधिकृतसहितको टोली खटाइएको छ । मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको डीएसपी गिरीले बताए ।