मधेस प्रदेशको राजधानी जनकपुरधाम अस्तव्यस्त, बजारमा ट्राफिकको अत्तोपत्तो छैन

जनकपुरधाम, १३ कार्तिक । मधेस प्रदेशको राजधानी जनकपुरधाम अन्य दिनको तुलनामा आज अस्तव्यस्त बनेको छ ।
छठ पर्वको मुख्य दिन आज ‘सँझुका अघ्र्य’ परेकोले बजारमा अत्यधिक भीड बढ्दा अस्तव्यस्त बनेको हो ।
बजारमा मानिस र सवारी साधनको अत्यधिक भीड बढेपनि ट्राफिक प्रहरीले व्यवस्थापन गर्न सकेको छैन् ।
शहरका मुख्यचोकहरुमा अत्यधिक भीड देखिएको छ भने पोखरी घाटहरुमा जाने बजारका मुल सडकहरु पनि बिहानैदेखि भरिभराउ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ ।

यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चन्द्रभुषण यादवले नगरभित्रका पोखरी घाटहरुलाई बढि केन्द्रीत गरेर जनशक्ति परिचालन गरिएकोले सडकमा बढेको भीडभाड व्यवस्थापन गर्न समस्या भएको बताए ।
उनले नेपाल प्रहरीसँग समन्वय गरेर नियमित ड्युटीबाहेक नगरभित्रमा १५ जना ट्राफिक प्रहरी खटाइएको जानकारी दिए ।

यता, छठ पर्वमा हुनसक्ने सम्भावित घटनाहरुलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले पनि नगरभित्रमा म्यादी र जनपद गरी ६ सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


