काठमाडौं, १३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन् ।

छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रकृतिको पूजा गरिने छठ पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने उल्लेख गरेकी हुन् ।

‘छठ पर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु,’ राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन् ।

खासगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएको काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको उनले बताएकी छन् ।