मनोकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा, १३ कार्तिक । गोरखाको मनोकामना दर्शन गर्न जाँदै गरेको दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
पाल्पाबाट मनोकामना आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा रम्भा गाउँपालिका–१ हुगीका ४१ वर्षीया तारा विक, सोही ठाउँका १७ वर्षीय विनथ विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया जुलमाया माझी रहेका छन् ।
चालक रामपुर नगरपालिका–३ गण्डकी ढिकका दिलकुमार श्रेष्ठ र सहचालक रामपुर ५ बेझाडका साजन श्रेष्ठसहित २३ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट लगिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक सन्तोष पाठकलाई उदृत गर्दै पत्रकार प्रकाश ज्ञवालीले बताए ।
रम्भा गाउँपालिका–१ च्याङलिङ, नौगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बस यात्रु बोकेर मनकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे मथारमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल कालिगण्डकी किनारमा पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


