काठमाडौं, १२ कार्तिक । देशको विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ३८ जनालाई पक्राउ गरेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३२० रुपैयाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडीसहित पक्राउ गरेको हो ।

उता, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडा बस्ने ध्रुर्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ८२० रुपैयाँ र १७ थान कौडासहित पक्राउ गरेको हो ।

त्यस्तै, सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ महुली बजार बस्ने सिताराम मेहताको घरमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनरुप नगरपालिका–१२ बस्ने ३६ वर्षीय दिपक भट्टराई लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार २८५ रूपैयाँ र तास १२ बुकसहित पक्रउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।