जनकपुरधाम, ११ कार्तिक । जनकपुरधाममा छठ पर्वको शुरुवात भएको दिन प्लाष्टिक म्यान क्याम्पेन सम्पन्न भएको छ ।

कायापलटद्वारा आयोजित सडक प्रदर्शनमा अभियन्ताहरुद्वारा पर्यावरणमाथिको विनाश रोक्नु पर्ने सांकेतिक प्रस्तुती गरिएको थियो ।

कायापलटको आयोजनामा सेभ द चिल्ड्रेन, सिफ्ट, डब्लुडब्लुएफ नेपालको सहकार्यमा जनकपुरधामको जानकी मन्दिर, जनकचोक, रामचोक हुँदै प्लाष्टिक म्यान सहित २० जना पर्यावरण अभियन्ताहरुले प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रममा एक प्लाष्टिक म्यानले प्लाष्टिकका बोतल र झोला बोकेका थिए भने प्लाष्टिकको सांकेतिक रुपमा सडक प्रदर्शन प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिमा कायापलटका रिषभ कुमार प्लाष्टिक म्यान बनेका थिए भने कुमारसँग रहेका अभियन्ताहरुले सडकका व्यपारी तथा आम–मानिसलाई प्लाष्टिक बारे जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै कायापलटका संस्थापक दिवाकर उप्रेतीले पर्यावरणमाथिको हस्तक्षेप रोक्नु पर्ने बताए । उनले भने, ‘आम मानिसले प्लाष्टिकको प्रयोग कममात्र गरे पनि सफा र सुन्दर जनकपुरधाम बनाउन सकिन्छ । यसको शुरुवात आफूबाट हुन जरुरी छ ।’

कायापलट लगायतका साझेदार संस्थाले निरन्तर यस्ता अभियान सञ्चालन गरिरहेका छन् । जसको शुरुवात बडादशैंको दिनबाट सुरु भएको कायापलटका अध्यक्ष तथा अभियन्ता कैयुम राइनले बताए । अभियानले छठको दिन पनि प्रदर्शन गर्ने राइनले जानकारी दिए ।