काठमाडौं, ११ कार्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर गठबन्धन गरेको सत्तारुढ दलबीच काठमाडौंका ४ निर्वाचन क्षेत्रमा सहमति हुन सकेको छैन । यसका कारण यी चार निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन टुटेको छ ।

यीमध्ये एक क्षेत्र हो, काठमाडौं १० । काठमाडौं १० मा गठबन्धनका तर्फबाट आधिकारिक उम्मेदवार हुन्, नेपाली कांग्रेसका राजेन्द्र केसी ।

तर, यही क्षेत्रमा नेकपा माओवादी केन्द्रले अन्जना विसंखेलाई अगाडि सारेको छ । यही क्षेत्रको प्रदेश सभा क्षेत्रको क मा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ नेपाली कांग्रेसबाट पुकार महर्जन र माओवादी केन्द्रबाट दिलिप महर्जन उम्मेदवार रहेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ३ को प्रदेश सभा निर्वाचन क्षेत्र ३ (ख)मा पनि कांग्रेस र माओवादीका अलग अलग उम्मेदवार रहेका छन् । त्यहाँ कांग्रेसबाट विमल ठकुरी र माओवादी केन्द्रबाट महेश्वर फुयाँल प्रदेश सभा सदस्य उम्मेदवार रहेका छन् ।

काठमाडौंकै ५ (ख)मा पनि कांग्रेसका श्यामबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुन्, प्रदीप पौडेल ।

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभा खमा कांग्रेसबाट विष्णुभक्त तिमिल्सिना र माओवादी केन्द्रका प्रकाश फुयाँलको उम्मेदवार परेको छ ।