जनकपुरधाम, ११ कार्तिक । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–८ स्थित पररियामा भएको दुई समुदायबीचको तनाव समाप्त गर्न बसेको सर्वपक्षिय बैठकमा ८ बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको सर्वपक्षिय बैठकमा शान्ति सदभाव कायम राख्नका लागि ८ बुँदे सहमति गरिएको हो । सर्वपक्षिय बैठकमा शान्ति सदभाव कायम राख्ने सहमति गरिएपनि अहिले पनि सो क्षेत्रमा कर्फ्यू कायमै रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।

बैठकमा घटनामा संलग्न दोषीको खोजी गरी कानूनी दायरामा ल्याउने सहमति भएको प्रजिअ पहाडीले बताए । त्यस्तै सर्वदलिय बैठकले पररियामा हिन्दु वाहिनी सेना सम्राटले छठ पर्वको अवसरमा निकालेको शोभायात्राको क्रममा असमझदारीका कारण दुई पक्षबीच भएको तनावको स्थिति साम्य पार्न घट्नामा संलग्न दूबै पक्षका साथै आम नागरिकलाई शान्ति कायम राख्न आह्वान गर्ने, घटनामा भएको जनधनको क्षतिको विवरण संकलन गरी क्षतिपुर्तीको सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचार खर्चकालागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।

घट्नामा संलग्न दोषि पत्ता लगाई कानूनी पक्रिया बमोजिम कारवाही अगाडि बढाउने, घटनाको छानविनका लागि उच्च स्तरिय टोली गठन गर्न गृह मन्त्रालयसँग अनुरोध गर्ने, परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सद्भाव कायम गर्न सदभाव ¥याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा क्रियाशिल राजनैतिक पार्टी र सामाजिक अगुवा संलग्न सर्वदलिय/सर्वपक्षिय संयन्त्रले गर्ने निर्णय समेत गरिएको छ ।