जनकपुरधामबाट स्रोत नखुलेको ३८ लाख ५० हजार रुपैयाँसहित एक युवक पक्राउ

जनकपुरधाम, ७ कार्तिक । धनुषा प्रहरीले जनकपुरधामबाट स्रोत नखुलेको ३८ लाख ५० हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–१ बस्ने २१ वर्षीय सुवम राज चौवे रहेका छन् ।
प्रहरीले निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप भारतबाट भन्सार छली अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको विशेष सुचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थाबाट अनटेस्ट मोटरसाइकलमा सवार भई आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा चौवेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
चौवेले बोकेको कालो रंगको व्यागमा १ हजारको दरले २९ बण्डल गरी २९ लाख र ५ सयको दरले १९ बण्डल गरी ९ लाख ५० हजारको नेपाली नोट गरी जम्मा ३८ लाख ५० हजार रूपैयाँ बरामद भएको डीएसपी क्षेत्रीले बताए ।
उनले भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको भन्ने खुल्न आएकोमा चौवेलाई नगदसहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


