चितवन, ७ कार्तिक । चितवनमा ट्रकको ठक्करबाट सर्लाहीका एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–१० बस्ने २६ वर्षीय सुनील महतो छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट महतोले चलाउँदै आएको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् ।

पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।