टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता छैन : अध्यक्ष ओली

काठमाडौं, ५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छ र ? भन्दै प्रश्नसमेत गरे ।
शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरणसमेत दिए ।
०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै ओलीले त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।
एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षमा आधारित हुने आश्वासनसमेत उनले दिए । आवश्यकताभन्दा बढी अवसर पाएकाहरु फेरि पनि अवसरको पछि कुदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाइ राखे ।
आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धतासमेत ओलीले व्यक्त गरे । मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न ओलीले सबैलाई आह्वान गरे ।
परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहोर्याउँदै उनले त्यस लक्ष्य प्राप्तिका लागि आगामी मंसिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गरे ।
परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरे पनि अब न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको अध्यक्ष ओलीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


