यसवर्षको पहिलो ६ महिनामा विपद्का घटनामा परी २८५ जनाको मृत्यु

काठमाडौं, ४ कार्तिक । विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ ।
यसवर्षको पहिलो ६ महिना (२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म) को अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का घटनामा परी ३३ जना बेपत्ता छन् भने ६०६ जना घाइते भएका छन् ।
यस वर्ष विपद्का घटनाले १ अर्ब १४ करोड ३ लाख २२ हजार ८३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।बाढी, पहिरो, हाई अल्टिच्युड, डुंगा दुर्घटना, चट्याङ, सर्प दंश, आगलागी, भारी वर्षा, हुरी बतास, भूकम्प, हिम पहिरो, जनावरको आक्रमण, वन डढेंलो र हिमपातका घटनाबाट उक्त जनधनको क्षति भएको हो ।
अघिल्लो वर्ष २०७८ को सोही अवधि (वैशाख १ गतेदेखि असोज ३१ गते)मा १ हजार ९६५ वटा विपद्का घटनामा परी २७० जनाको मृत्यु, ४४ बेपत्ता र १ हजार ३३९ जना घाइते भएका थिए । गत वर्षको पहिलो ६ महिनामा विपद्का घटनाले १ अर्ब ७ करोड ४७ लाख ६६ हजार २७२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।
पहिरोका घटनाबाट सबैभन्दा बढीको मृत्यु
बितेको ६ महिनामा विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु पहिरोमा परी भएको छ । सो समयमा पहिरोका घटनामा परी ९५ जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार यस वर्ष चट्याङ लागेर ८०, आगलागीमा परी २७, जनावरको आक्रमणमा परी २१, बाढीमा परी १९, सर्पको टोकाइबाट १८, हाई अल्टिच्युडका कारण ३, डुंगा दुर्घटनामा १, भारी वर्षाका कारण ८, हुरी बतासका कारण ९, हिम पहिरोमा परी २, वन डढेंलोमा परी १ र हिमपातका कारण १ जनाको मृत्यु भएको छ ।
आगलागीले सबैभन्दा बढी आर्थिक क्षति
बितेको ६ महिनामा विपद्का घटनामध्ये आगलागीले सबैभन्दा बढी आर्थिक क्षति गरेको छ । सो अवधिमा आगलागीका घटनाबाट ९५ करोड ३१ लाख ६७ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
प्राधिकरणका अनुसार पछिल्लो ६ महिनामा पहिरोका घटनाले ८ करोड ८१ लाख २८ हजार ७०० रुपैयाँ, बाढीले १ करोड ४५ लाख ८८ हजार रुपैयाँ, वन डढेंलोले १ करोड २३ लाख ८५ हजार रुपैयाँ, भारी वर्षाले ३ करोड ८१ लाख ३० हजार ६७५ रुपैयाँ र हुरी बतासले २ करोड ५४ लाख ६१ हजार ८०० रुपैयाँको आर्थिक क्षति गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


