रुपन्देही, ३ कार्तिक । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेपछि सर्वोच्च गएका रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएर उम्मेदवारी दर्ता गराएका डा. कमल भुसाल निकोलसको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय बदर गरी पाउँ भन्ने उनको मागअनुसार अदालतले अन्तरिम आदेश नदिएपनि कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य र दिनेश त्रिपाठीले र विपक्षमा अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।

अन्तरिम आदेश नदिएसंगै भुसालको उम्मेदवारी खारेजी कायम रहेको र उनले कात्तिक १५ गतेसम्म प्रचार प्रसार गर्न नपाउने निर्वाचन कानुनले भनेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका विद्यार्थी भुसालले संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता गरेका थिए ।

उनले आफू स्वतन्त्र भनेपनि अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएका छन् । भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन् । उनले बिदामा बस्नका लागि निवेदन दिए पनि उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी नगराएको संस्थानले प्रष्ट पारेको छ ।

नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । तर उनका समर्थकहरुले भुसालमाथि अन्याय भएको भन्दै आयोगको विरोध गरिरहेका छन् ।