काठमाडौं, ३ कार्तिक । लक्ष्मी पूजाको भोलिपल्ट सूर्यग्रहण लाग्ने भएको छ ।

लक्ष्मी पूजाको भोलिपल्ट अर्थात कार्तिक ८ गते मंगलबार कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो ।

ग्रहण अपराह्न ४ः५२ बजे स्पर्श गर्ने र ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

नेपालबाट ३२ मिनेट ग्रहण देखिने उनले बताए । पूरा समय नदेखिने भए पनि ग्रहण बेलुकी साढे ७ बजे नेपालबाट छाड्ने उनको भनाइ छ ।

शास्त्रीय मान्यताअनुसार ग्रहण अवधिभर बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

ग्रहणका बेला स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका कर्म गर्न शुभ मानिन्छ ।