काठमाडौं, ३ कार्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि धमाधम मतपत्र छपाइका काम गरिरहेको छ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका मतपत्र छपाइको काम भइरहेको हो ।

आयोगका अनुसार अहिलेसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सकिएको छ । छापिएकामध्ये प्रतिनिधिसभातर्फ ५० लाख १३ हजार र प्रदेशसभातर्फ ५० लाख २४ हजार मतपत्र छ ।

योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुराको प्रत्यक्षतर्फ मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामको मतपत्र छपाइ सकिएको छ ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ । साथै समानुपातिक निर्वाचन प्रणालीतर्फ बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरू हुँदैछ । पहिलो चरण अन्तर्गत प्रदेश नम्बर १, मधेस प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।