काठमाडौं, ३ कार्तिक । ‘सहकारीबाट ऋण मिलाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कृष्णमन्दिर बस्दै आएका ५६ वर्षीय मणी कुमार थापा छन् ।

अछामको चौरपाटी गाउँपालिका घर भएका नरेन्द्र कुमार भुललाई थापाले बाँसबारीमा संचालित चण्डोल बहुउद्देश्यिय सहकारीबाट ३० लाख रुपैयाँ ‘ऋण मिलादिन्छु’ भनेर ठगेका हुन् ।

आरोपीले सदस्य पहिचान फारम र शेयर दरखास्त फारम भर्न लगाएर पीडितबाट ३ लाख १२ हजार रुपैयाँ ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

थापाले आफु सो सहकारीको संचालक भएको दाबी गरेर विश्वासमा लिएर पैसा लिएपछि सम्पर्क बिहिन भएका थिए । उनलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी कोइरालाले बताए ।