काठमाडौं, ३ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।

आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ । तर खेलाडीहरुलाई भने अभ्यास खेलकै आधारमा पदक वितरण गरिएको छ ।

निसिमको अर्ध कदको सालिक राखिने भएको छ । पोखरा रंगशालामा उनको सालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ ।

बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मान स्वरूप सालिक बनाउने निर्णय गरिएको बोर्ड सदस्य अन्जन धमलाले जानकारी दिए ।