धनुषा–३ का युवा उम्मेदवार डा. पंजियार भन्छन्, ‘राजनीतिमा नयाँ पुस्ताको प्रवेशले परिवर्तनमा आशा जगाउँछ’

जनकपुरधाम, २ कार्तिक । आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ युवा उम्मेदवारको संख्या अघिल्लो निर्वाचन भन्दा थप घटेको देखिन्छ ।राजनीतिक दलहरुले युवालाई टिकटबाट वञ्चित गर्दा यसवर्ष २०७४ को निर्वाचनमा भन्दा युवाहरुको कम उम्मेदवारी परेको देखिन्छ ।
प्रतिनिधिसभाको १६५ सिटमा २ हजार ५३१ र प्रदेशसभाको ३३० सिटमा ३ हजार ४८१ गरी कूल ६ हजार १२ जना उम्मेदवार छन्, जसमध्ये २५ देखि ४० वर्षसम्म उमेर समूहका १ हजार ८५३ अर्थात् ३० दशमलव ८२ प्रतिशत मात्रै युवा उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा यो संख्या १ हजार ८०९ अर्थात ३४.८५ प्रतिशत थियो । २०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ५ हजार १९० मध्ये १ हजार ८०९ जना ४० वर्षमुनिका उम्मेदवार थिए ।
यस पटक मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २५ देखि ४० वर्षसम्म उमेर समूहका ७८३ जना उम्मेदवार छन् । २५ वर्षका २० र ४१ देखि ९९ वर्ष उमेरसमूहका १ हजार ७४८ जना अर्थात् ६९ प्रतिशत उम्मेदवार छन् ।
यिनै कम युवा उम्मेदवारहरुको बिचमा छन् ३५ वर्षीय डाक्टर रञ्जित पंजियार । जसले धनुषा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
आमनिर्वाचनमा युवा उम्मेदवारको संख्या विगतमा भन्दा कम भएपनि राजनीतिप्रति सचेतना र जागरण बढेकोले आफूले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएको डाक्टर रञ्जित बताउँछन् । उनले कानुनमै युवा कति प्रतिशत हुने भन्ने यकिन नभएसम्म यस्तै हुने दाबी गरेका छन् ।
उनले भने, ‘यस निर्वाचनमा युवा उम्मेदवार कम्तीमा ४० प्रतिशत हुनुपर्थ्यो । नयाँ पुस्ताको राजनीतिमा प्रवेशले परिवर्तनमा आशा जगाउन सक्छ ।’
डा. पंजियारले आफू निर्वाचित भए धनुषा–३ मा बोल्न नसक्नेहरुको आवाज बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू नागरिकको मौलिक हक अधिकार सुनिश्चितताको लागी लड्नुका साथै शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैं उभिने प्रतिबद्धतासमेत जनाएका छन् ।
आफू निर्वाचित हुँदा स्वास्थ्य, शिक्षा र स्वरोजगारको सुनिश्चितताको आधार बन्ने बताउँदै उनले भ्रष्टाचार, वेथिति र विसङ्गतीको अन्त्य गर्नका लागि एक कदम पनि पछाडि नहट्ने र देशको सार्वभौम, स्वाधीनता तथा संविधानको सदैव सम्मान गर्नुका साथै सम्पूर्ण धनुषाबासीको प्रतिनिधि बनि संसदमा इमान्दार नेतृत्व दिने बचनबद्धतासमेत जनाएका छन् ।
उनले भने, ‘मुर्तिकला, हस्तकला, काष्ठकला, धातुकला लगायतका पुरातात्विक कला विज्ञहरुलाई सम्मान र प्रोत्साहनको व्यवस्थाका साथै सो सम्बन्धि व्यवसायलाई सस्तो व्याजदरमा ऋणको व्यवस्था गराउन पहल गर्नेछु । हाम्रो यस क्षेत्रमा रहेको ऐतिहासिक पाटि, पौवा, मठ–मन्दिर, लगायत सम्पदाको उचित संरक्षण र पुनः निर्माणका साथै लोप भएका सम्पदाहरुको खोजि गरि उत्खनन गर्न/गराउन नेतृत्व लिनेछु र घर–घरमा भएका ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरुलाई राज्यले पहिचान गरि राज्यको सम्पत्तिको रुपमा सो व्यक्तिलाई नै श्रेय जाने गरि स्थानिय तथा राष्ट्रिय संग्रहालयहरुमा संरक्षण गर्ने व्यवस्था मिलाउन पहलसमेत गर्नेछु ।’
पंजियारले यस क्षेत्रमा रहेका महत्वपूर्ण कला, संस्कृति, चाड–पर्व, तथा सम्पदाहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा ब्रान्डिङ हुने गरि कार्यक्रमहरु ल्याउनुका साथै सडक तथा वातावरण व्यवस्थापन, खानेपानीको आपूर्ति सहज र नियमित बनाउने तथा शहरका चोक–चोकमा सर्वशुलभ शुद्ध पिउने पानीको लागि वाटर एटिएमहरु जडान गराउने प्रतिबद्धता जनाएका छन् ।
उनले समुदायले बेहोरेको बातावरणिय क्षतिका लागि धनुषा क्षेत्रका निजी अस्पतालहरुमा यहाँका बासिन्दाका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले आम जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचका लागी ‘राष्ट्रीय मौलिक स्वास्थ्य सेवा मोडल’ बनाई २०८०–८५ लाई स्वास्थ्य क्षेत्र सुधारको ‘स्वर्णिम पञ्च वर्ष’ को रुपमा ग्रहण गर्दै स्वास्थ्यको बजेटलाई बढाएर १०% बनाउन पहल गर्न आफूले इमान्दार प्रयास गर्ने बताए ।
‘प्रत्येक प्रदेशको कम्तीमा एउटा सम्पूर्ण विशेषज्ञ अस्पतालमा ल्याउनेछौं, उनले भने, ‘प्रत्येक अस्पतालमा ब्लड बैंक, फार्मेसी र एम्बुलेन्स सेवा उपलब्धताको सुनिश्चितता गराउनेछु । एकिकृत राष्ट्रीय ट्रमा तथा दुर्घटना व्यवस्थापन प्रणाली बनाउन नेतृत्व लिनुका साथै वडा तथा अर्वन हेल्थ सेन्टरहरुको स्तरोन्नति गदै एमबिबिएस डाक्टर, सामान्य ल्याब सेवा, प्राथमिक स्वास्थ्य सेवा र सामान्य शल्यक्रियाको सुविधा हुने गरि सुढिकरण गराउनेछु ।’
साथै उनले शिक्षा र युवा रोजगारीका लागि शिक्षामा वार्षिक बजेट बढाउन पहल गर्ने र शैक्षिक सुधारको लागि विश्वव्यापी रुपमा अगाडि आइरहेका प्राविधिक परिवर्तनलाई तत्कालै पाठ्यक्रममा समावेश गर्ने व्यवस्था ल्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।
डा. पंजियारले सांस्कृतिक सम्पदाको संरक्षण, प्रादेशिक स्तरको सिप तालिम केन्द्र स्थापना गरि सो व्यवसाय गरिरहेकाहरुलाई प्रशिक्षकको रुपमा राख्ने र तालिम प्राप्तलाई सोही स्थलहरुमा इन्टर्नसिप तथा रोजगारको व्यवस्था मिलाउन पहल गर्ने दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


