जनकपुरधाम, ९ बैशाख । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरूको आन्दोलन चर्किएको छ ।

२०७८ ब्याच अन्तर्गत आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पस प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै परीक्षा बहिष्कार गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरूले क्याम्पस प्रमुख वसन्त लाल कर्णमाथि अनियमितता तथा प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

उनीहरूका अनुसार व्यवस्थापनका कमजोरीबारे आवाज उठाउँदा प्रमुखले उल्टै मानसिक दबाब सिर्जना गर्दै ‘टर्चर’ दिने काम गरेको आरोप छ ।

विद्यार्थीहरूको भनाइमा परीक्षा नजिकिँदै गर्दा लक्षित रूपमा तनाव सिर्जना गरिएको र त्यसले शैक्षिक वातावरण नै प्रभावित बनेको छ ।

‘हामी निष्पक्ष वातावरणमा परीक्षा दिन चाहन्छौँ । तर, प्रमुखकै निगरानीमा परीक्षा दिन सक्दैनौँ,’ एक विद्यार्थीले भने, ‘हामी ‘एक्सटर्नल’ वा विभागीय प्रमुखको उपस्थितिमा मात्रै परीक्षा दिन तयार छौँ ।’

उनीहरूले क्याम्पस प्रमुख नियुक्त भएदेखि नै गुनासो सुन्ने संस्कृति कमजोर रहेको, समस्यासहित जाँदा अपमानजनक व्यवहार गर्ने र मागहरू बेवास्ता गर्ने प्रवृत्ति देखिएको आरोप पनि लगाएका छन् ।

सोही विषयमा विरोध जनाउँदा अहिले परीक्षा अवधिमा आएर बदला लिने प्रयास गरिएको उनीहरूको दाबी छ ।

विद्यार्थीहरूले क्याम्पस प्रशासनलाई तत्काल निष्पक्ष र सुरक्षित वातावरणमा परीक्षा सञ्चालन गर्न माग गर्दै अन्यथा आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

यस विषयमा क्याम्पस प्रशासनको औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।